दुःखमा परेकाहरूको सहारा बनी दशैं मनाऔंः कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको कठिन परिस्थितिमा यस वर्षको विजयादशमी मनाइरहँदा चाडपर्वको खुसी दुःखमा परेका परिवारसँग पनि बाँड्न आह्वान गरेका छन्।

विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सभापति थापाले यस वर्षको दसैँ राष्ट्रिय विपत्ति र पीडाका बीच मनाउनुपरेको उल्लेख गरेका हुन्।

उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नै घरपरिवारमा मात्र सीमित नगरी विपत्तिमा परेकाहरूलाई सहयोग गर्नुपर्ने बताएका छन्।

‘यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,’ थापाले शुभकामना सन्देशमा भनेका छन्।

सभापति थापाले विजयादशमीले आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई एकताबद्ध बनाउने सद्भावको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले विजयादशमीका अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत