कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

काठमाडौं। भारी वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएपछि कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्।

असोज ११ गतेको भारी वर्षाले सडकमा क्षति पुर्‍याएपछि गन्तव्यमा पठाउन नसकिएका ती सवारीसाधन मुस्ताङका विभिन्न स्थानमा पार्किङ गरी राखिएको हो। शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि अवस्था अझै सहज नभएकाले विद्युतीय गाडी गन्तव्यतर्फ पठाउन समस्या भइरहेको छ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय गाडी पार्किङ गरिएका छन्।

कोरलास्थित बीओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय सवारीसाधन राखिएका छन्।

उनका अनुसार कोरलानाकामा भन्सार जाँचपासपछि स्थानीय चालकले गाडी भन्सार कार्यालयसम्म ल्याइपुर्‍याउँछन्। त्यसपछि सम्बन्धित कम्पनीका चालकले गाडी लिएर जाने व्यवस्था छ। नाकामा रोकिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण भइरहेको उनले बताए।

यसैगरी, कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका ५०० भन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमका दुई पार्किङस्थलमा राखिएका छन्।

बिवाइडी कम्पनीका गाडी खरिद तथा व्यवस्थापनमा संलग्न साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोममा रहेका विद्युतीय सवारीसाधन गन्तव्यतर्फ पठाउन सकिएको छैन। विशेषगरी साना गाडीलाई सडकको कठिन अवस्थाका कारण लैजान समस्या भइरहेको उनले बताए।

उनका अनुसार असोज ११ गतेअघि बिवाइडी कम्पनीका करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइएको थियो। त्यसपछि कोरलानाकाबाट भित्रिएका दुई हजारभन्दा बढी बिवाइडीका विभिन्न मोडलका गाडी भने मुस्ताङमै रोकिएका छन्।

जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङस्थलमा ती गाडी राखिएको बुढाथोकीले जानकारी दिए। रसुवा र तातोपानी नाका बन्द भएपछि साइमेक्स इङ्कले कोरलानाकाबाट तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना बनाएको पनि उनले बताए।

यसैबीच, बेनी–जोमसोम सडक प्रभावित भए पनि कोरलानाकाबाट आयात गरिएका अन्य मालवस्तुको ढुवानी भने क्रमशः सहज हुँदै गएको छ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।

जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत