पाईसभास्को, स्पेन - गैरआवासीय नेपाली संघ (NRNA NCC Spain) क्षेत्रीय समिति पाईसभास्कोको वार्षिक अधिवेशन तथा शुभकामना आदान–प्रदान कार्यक्रम विभिन्न विषयमा छलफल, प्रश्न–जवाफ र आपसी भेटघाटसँगै सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व क्षेत्रीय समितिका सभापति डेबिट कार्कीले गर्नुभएको थियो। कार्यक्रममा NRNA Spain का ICC सदस्य रोशन पाठक प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अतिथिका रूपमा राम दाहाल, रोहन कार्की, उदयराज पाठक, राजेन्द्र पराजुली, दिपेन्द्र अर्याल, श्रीकृष्ण सिग्देल, दावा शेर्पा र मनोज ढुङ्गानाको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव अतित ढकालले गर्नुभएको थियो भने क्षेत्रीय युवा संयोजक सुदीप दुलालले स्वागत मन्तव्य दिनुभएको थियो। प्रमुख अतिथि रोशन पाठकले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यस्तै, क्षेत्रीय कोषाध्यक्ष रामचन्द्र बुढाथोकीले समितिको वार्षिक आर्थिक गतिविधिबारे जानकारी प्रस्तुत गर्नुभएको थियो।
सदस्यता र ICC Portal सम्बन्धी विषयमा छलफल
कार्यक्रममा लामो समयदेखि छलफलमा रहेको नयाँ सदस्यता तथा ICC NRNA Portal सम्बन्धी विषयले विशेष स्थान पाएको थियो।
नयाँ आगमन भएका नेपालीहरूको ICC NRNA Portal नखुलेको अवस्थामा समेत पाईसभास्को क्षेत्रीय समितिले नयाँ सदस्यता खुलाएको विषयमा उठेको प्रश्न तथा विवादबारे सहभागीहरूले जिज्ञासा राखेका थिए। उक्त विषयमा ICC सदस्य रोशन पाठक र क्षेत्रीय सभापति डेबिट कार्कीले सहभागीहरूलाई जवाफ दिनुभएको थियो।
छलफलका क्रममा सभापति कार्कीले पाईसभास्को क्षेत्रमा सदस्यता लिएका नयाँ नेपालीहरूको ICC Portal खुलाएर सदस्यता कायम गर्ने तथा सन् २०२५–२७ को सदस्य नामावलीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
उहाँले Portal खुलाएर सदस्यता कायम गर्न नसकिएमा त्यसपछि उत्पन्न हुने कानुनी सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत स्पष्ट पार्नुभएको थियो।
कार्यक्रम व्यवस्थापन पनि चर्चामा
कार्यक्रमको अर्को उल्लेखनीय पक्ष अतिथि सत्कार तथा आसनग्रहणको व्यवस्थापन रह्यो। प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई परम्परागत रूपमा मञ्चमा आसनग्रहण गराउने व्यवस्था नभई खुला स्थानमा भुइँमै बसाएर स्वागत तथा आसनग्रहण गराइएको थियो।
औपचारिक कार्यक्रम भएकाले अतिथि सत्कार तथा कार्यक्रम व्यवस्थापनलाई आगामी दिनमा अझ व्यवस्थित बनाउन सकिने देखिएको थियो। यसलाई आगामी कार्यक्रमहरूका लागि सुधार गर्नुपर्ने पक्षका रूपमा लिन सकिने सहभागीहरूको धारणा थियो।
तोकिएको समयभन्दा करिब चार घण्टा ढिलो कार्यक्रम औपचारिक रूपमा सुरु भएको भए पनि त्यसपछि विभिन्न विषयमा छलफल तथा शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम अघि बढाइएको थियो।
कार्यक्रममा सहभागीहरूका लागि BBQ कार्यक्रमसमेत आयोजना गरिएको थियो। छलफल तथा प्रश्न–जवाफपछि आपसी भेटघाट र BBQ सहित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रमको समापन सभापति डेबिट कार्कीले गर्नुभएको थियो।
अब अधिवेशनमा व्यक्त गरिएका प्रतिबद्धता, विशेषगरी नयाँ सदस्यहरूको ICC Portal खुलाउने, सदस्यता कायम गर्ने तथा सदस्य नामावलीमा समावेश गर्ने विषय व्यवहारमै कार्यान्वयन गर्न सम्बन्धित नेतृत्वलाई अनुरोध गरिएको छ। समुदायका बीचमा उठेका विषयलाई प्रतिबद्धतामै सीमित नराखी कार्यान्वयनमा लैजान सके पाईसभास्को क्षेत्रका नेपाली समुदायमा थप विश्वास र सहकार्यको वातावरण बन्ने अपेक्षा गरिएको छ।
.jpeg)

— एलिश राज सन्जेल
पाईसभास्को, स्पेन
प्रतिकृया दिनुहोस