पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा सडकमार्गको आवागमन प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ। इलाम नगरपालिका–९, राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सो स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४, चारकिलो, लिपिङमा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलानजिक पहिरो जाँदा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका–४, काडाबगर तथा सोही पालिकाको धौलापहिरामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रोल्पाको थबाङ गाउँपालिका–२, लाप्लेभिर र दबाङमा पहिरो जाँदा घोराही–थबाङ सहिद मार्गका दुई स्थानमा यातायात ठप्प भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत