बाढीले रसुवागढी–चीन व्यापार ठप्प, मितेरी पुल बग्दा सडक सम्पर्क विच्छेद

काठमाडौँ / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन व्यापारिक नाका रसुवागढीबाट हुने सम्पूर्ण आयात–निर्यात ठप्प भएको छ। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै रसुवागढी नाका पूर्णरूपमा अवरुद्ध बनेको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले रसुवागढी नाका हुँदै चीनतर्फ जाने सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ। साथै, स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डसमेत पूर्ण रूपमा अवरुद्ध छ।

बाढीबाट रसुवा भन्सार कार्यालय यार्ड, ईभी चार्जिङ स्टेसन, र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि ठूलो क्षति पुगेको छ। घटनापछि १८ नागरिक वेपत्ता भएका छन् भने सुरक्षाकर्मीहरूले हालसम्म ५५ जनाको उद्धार गरेका छन्।

नेपाल–चीन सीमावर्ती व्यापारमा गम्भीर असर
चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्म रसुवागढी नाकाबाट मात्रै करिब ८० अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु आयात र १ अर्ब ९६ करोड बराबरको वस्तु निर्यात भएको थियो।
तातोपानी नाकाबाट सोही अवधिमा ४६ अर्ब ८९ करोडको आयात भएको छ, तर निर्यात शून्य छ। हवाई मार्गबाहेक चीनसँगको सारा व्यापार यी दुई नाकाबाट हुँदै आएको छ।

मितेरी पुलको विनाशसँगै रसुवागढी नाका अनिश्चितकालका लागि बन्द हुनुका साथै यसबाट हुने आर्थिक गतिविधि स्थगित भएका छन्। सरकार र सम्बन्धित निकायहरूले संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य सुरु गर्ने जानकारी दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले बाढीपीडितहरूको तत्काल उद्धार र राहत कार्यका लागि सरकारलाई आग्रह गरेको छ। यतिबेला राज्यको समन्वित पहल र द्रुत प्रतिकार्य अपरिहार्य भएको विज्ञहरू बताउँछन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत