सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ / लामो समयदेखि आन्दोलनरत चिकित्सक र सरकारबीच अन्ततः सहमति जुटेको छ। नेपाल चिकित्सक संघसँग मंगलबार साँझ सम्पन्न वार्तामा चिकित्सकका प्रमुख मागहरू सम्बोधन गर्न सरकारले प्रतिबद्धता जनाएपछि चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्।

सरकार र चिकित्सकबीचको वार्तापछि चिकित्सकहरूको माग सम्बोधनका लागि आवश्यक कानूनी र नीतिगत संशोधनसहित सुझाव पेश गर्न एक कार्यदल गठन गरिएको छ। उक्त कार्यदलको संयोजकत्व आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुखले गर्नेछन्।

कार्यदलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवस्तरका प्रतिनिधिहरू सदस्य रहने छन्। कार्यदलले ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउनेछ।

प्राप्त प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीहरू तथा नेपाल चिकित्सक संघसहित सरोकारवाला पक्षको संयुक्त वार्ता टोलीमा पेश गरिने र त्यसको कार्यान्वयन सुनिश्चित गरिने सहमति भएको छ।

यसै सन्दर्भमा नेपाल चिकित्सक संघले आजैका मितिदेखि सबै किसिमका आन्दोलनहरू स्थगित गर्ने र नियमित सेवा सुचारु गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत