कांग्रेसका ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी

काठमाडौँ / नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै अनुशासन समिति संयोजक केन्द्रीय सदस्य आनन्द ढुंगानाले समितिमा ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी परेको जानकारी दिएका हुन् । 

ढुंगानाले बैठकमा ५० जिल्लाबाट अरू करिब २१ सय जनाविरुद्ध उजुरी परेको पनि जानकारी दिए । उनीहरूविरुद्धअनुशासनको कारबाही माग गर्दै उजुरी परेको ढुंगानाले बताए । ती उजुरीविरुद्ध छानबिन भइरहेको बताउँदै संयोजक ढुंगानाले भने, ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसमेत छन्,  ती उजुरीउपर छानबिन भइरहेको छ ।’ 

तर, उजुरी परेका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिसहितका नेताहरू को–को हुन् भन्ने ढुंगानाले खुलाएनन् ।  प्रायस् उजुरी गत आम निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकोलगायत विषयमा रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत