हेटौडा /मकवानपुर जिल्लाको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक बसन्त राईको अध्यक्षतामा सम्पन्न उक्त तालिममा करिब ३३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक राईले भने, “हाम्रो विद्यालय नमुना विद्यालय हो। नमुना विद्यालयका हैसियतमा नयाँ र सकारात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं।विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीप विकासमा लगाउनु आजको आवश्यकता हो उहाँले थपे," विद्यार्थीहरूमा फरकपन ल्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरेका छौं।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर राना (क्षितिज)ले विद्यालय सधैं शैक्षिक गुणस्तरसँगै व्यक्तित्व विकासमा समेत जोड दिइरहेको बताउँदै विद्यार्थीहरूको बोलीको कला विकासका लागि यस्ता तालिम अत्यन्तै उपयोगी हुने बताए। उनले भने, “बोल्ने कलाबाट पछाडि नहट्नुहोस्, यो कलाले नै तपाईंको भविष्य उज्यालो बनाउँछ।”
तालिममा सहभागी समीक्षा श्रेष्ठले यस तालिमले आफ्नो जीवनमा नयाँ आयाम थपेको बताउँदै भनिन्, “म बोल्थेँ तर सिस्टेमेटिक तरिकाले बोल्न जान्दिनथेँ। अब म प्रभावकारी बोल्नका लागि तयार छु।”
यस्तै अर्का सहभागी रेजिना पुलामीले तालिमले जीवनप्रति दृष्टिकोण बदलिदिएको बताए। “अब म पनि हजारौंको अगाडि आत्मविश्वासका साथ बोल्न सक्छु,” उनले भने।
अर्की सहभागी सोमी घलानले यो तालिमले आफूलाई जीवन परिवर्तन गर्ने प्रेरणा दिएको छ। उनले भनिन्, “बोली भन्ने चिजले मान्छेलाई कता पुर्याउँछ भन्ने कुरा बुझ्न थालेकी छु। अब म आफ्नो व्यक्तित्व निखार्दै जान्छु।”
अर्का सहभागी पूर्णबहादुर थोकरले बोल्ने कला पनि जिउने कला भएको थाहा पाएको बताए। उनले भने, “बोल्ने कलालाई खासै महत्त्व दिने थिइन, हाल आएर यसको महत्त्व बढी हुदो रहेछ। अब हरेक समय मौका पाउन साथ प्रस्तुति दिन आगाडी सर्छु।” उनले यो तालिम थप गर्न समेत विद्यालयलाई आग्रह गरे।
तालिमका प्रशिक्षक तथा सञ्चारकर्मी रूपक कालिराजले उद्घोषण कलाको प्रयोगात्मक अभ्यास गराउँदै सहभागीहरूलाई सिकाएका थिए। उनले भने, “धेरै विद्यालयमा तालिम दिइसकेको छु, तर यहाँको विद्यार्थीहरूको ऊर्जा, सहभागिता र सिक्ने चाहनाले म गहिरो रूपमा प्रभावित भएको छु। विद्यालयको नेतृत्व र व्यवस्थापन फरक ढंगले अघि बढ्ने प्रतिबद्धतामा देखिएको छ, यसमा शुभकामना व्यक्त गर्दछु।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निवर्तमान प्रधानाध्यापक दिनेश माझी लगायत शिक्षकहरू उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले आगामी दिनमा यस्ता तालिमहरू अझै लामो समयसम्म सञ्चालन गर्न अनुरोध गरेका छन्।
यस्ता तालिमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सार्वजनिक प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याएको सहभागी शिक्षकहरुले बताएका थिए । जनता माध्यमिक विद्यालयको यो पहलले समग्र शिक्षा प्रणालीलाई नयाँ दिशा दिन सक्नेछ ।
प्रतिकृया दिनुहोस