काठमाडौं । नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा चौथोपटक पनि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठो दिनसम्म लम्बिएको हो । बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ ।
पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन । सहमति खोज्नका लागि निर्वाचन आयोगले चारपटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ । वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुबोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पालीले जानकारी गराए ।
आकांक्षीहरुसँग पार्टी उपमहासचिव बस्नेत र संगठनका इञ्चार्ज दीपशिखाले संवाद गरिरहेका छन् । पार्टी सचिवालय बैठकले सर्वसम्मतबाट नेतृत्व ल्याउन सुझाव दिएको थियो । वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ । तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए । संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।
पछिल्लो पटक कुँवर र ओलीबीच प्रतिस्पर्धाको सम्भावना बढेको छ । नेताहरूका अनुसार पुलामी पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने लाइनमा उभिएका छन् । अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरूले बताएका छन् । उम्मेदवारको अन्तिम नामावलीको समय बेलुकी ९ बजेका लागि तय गरिएको छ ।मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गर्दा मतदानको समय ‘तत्कालीन अवस्था अनुसार’ हुने सूचना निकालेको छ ।
प्रतिकृया दिनुहोस