हेटौंडा /दक्षिण कोरियाको Employment Permit System (EPS) अन्तर्गत कार्यरत नेपाली श्रमिकहरूका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा आयोजना हुने भएको छ।
आज हेटौंडाको तास हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरिएको हो। कार्यक्रम आगामी २०८२ साल जेठ १६ गते, बिहान १०:३० बजे, हेटौंडा–१० स्थित रोयल पार्टी प्यालेसमा आयोजना गरिनेछ। कार्यक्रममा सहभागी श्रमिकका परिवार सदस्यहरूलाई वित्तीय व्यवस्थापन, मानसिक स्वास्थ्य, र सामाजिक सशक्तिकरणका विषयमा जानकारी तथा परामर्श दिइनेछ। कार्यक्रमको आयोजना नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, KOICA (Korea International Cooperation Agency), अङ्कुर नेपाल, र K-HaMi परियोजनाको संयुक्त सहकार्यमा गरिएको हो। पत्रकार सम्मेलनमा अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलको अध्यक्षतामा कार्यक्रमको जानकारी दिइएको थियो। उनले भने, "हामी पहिलोपटक हेटौंडामा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गर्दैछौं, जुन EPS श्रमिकका परिवारको हितमा केन्द्रित छ।
कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मीहरूको सहयोग, समर्थन र प्रचार–प्रसार अत्यन्तै महत्वपूर्ण हुनेछ।" समितिका सचिव माधव सापकोटाले कार्यक्रममा सहभागी हुनेको दायरा स्पष्ट पार्दै भने,"यो कार्यक्रम कोरियामा कार्यरत श्रमिकका आमाबुवा, जीवनसाथी र नजिकका परिवार सदस्यहरूका लागि लक्षित गरिएको हो। गाउँ–सहरका कुनाकुनासम्म जानकारी पुर्याउने हाम्रो प्रयास छ। सञ्चार क्षेत्रको प्रभावकारी साथले कार्यक्रमलाई अझ सफल बनाउन मद्दत पुग्नेछ।"
प्रतिकृया दिनुहोस