युट्रेक्ट (नेदरल्यान्ड), वैशाख १२ –
नेदरल्यान्डमा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय नेपाली समाजसेवी शशि पौड्याललाई नेदरल्यान्डको राजाले Ridder in de Orde van Oranje Nassau (रिडर इन दे अर्डे फान ओरान्जे नासाउ) राजकीय पदकबाट विभूषित गरेका छन्।
नेदरल्यान्डका राजा Willem-Alexander को तर्फबाट प्रदान गरिने यो पदक, सामाजिक उत्तरदायित्व, आप्रवासी समुदायप्रतिको योगदान तथा बहुसांस्कृतिक सहकार्यमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई दिइने प्रतिष्ठित सम्मान हो।
युट्रेक्ट नगरपालिकाद्वारा सिफारिस भई सम्मानित भएका पौड्यालले विगत धेरै वर्षदेखि नेदरल्यान्डमा नेपाली समुदायको सशक्तिकरण, महिला तथा युवा नेतृत्व विकास, अन्तरसंस्कृतिक समन्वय र आप्रवासी अधिकारको पक्षमा उल्लेखनीय कार्य गर्दै आउनुभएको छ।
सम्मानपछि प्रतिक्रिया दिँदै पौड्यालले भने–
“यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, सम्पूर्ण गैरआवासीय नेपाली समुदायको पहिचान र योगदानको मान्यता हो। यो पदक म मेरी आमा तारादेवी पौड्याललाई समर्पित गर्दछु जसले मलाई बाल्यकालमै समाजप्रतिको सेवा भावना सिकाउनुभयो।”
पौड्यालले आफू नेपाली भएर जन्मिनुमा गर्व महसुस गर्ने र नेदरल्यान्डलाई कर्मभूमि बनाउन पाउनुमा आफूलाई भाग्यमानी ठान्ने बताएका छन्। उहाँले यस सम्मानले आफूलाई थप प्रेरित बनाएको र आगामी दिनहरूमा अझ सशक्त ढंगले समाज र समुदायको हितमा काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो।
नेदरल्यान्डमा बसोबास गर्ने नेपाली समुदाय, समाजसेवी संस्था र अन्तर्राष्ट्रिय स्तरका नेपाली अभियन्ताहरूले शशि पौड्याललाई प्राप्त यो सम्मानलाई सम्पूर्ण नेपालीको गौरवका रूपमा लिएका छन्।
शशि पौड्यालको यो सफलताले विदेशमा रहेका नेपालीहरूले पनि सामाजिक योगदान र समर्पणका माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सक्ने स्पष्ट सन्देश दिएको छ।
प्रतिकृया दिनुहोस