एमालेको ‘यूथ सेलिब्रेसन’: नाँचगान र सेल्फीमा रमाउँदै नेता–कार्यकर्ता

११ बैशाख, काठमाण्डौ /  नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ मा हजारौं युवा सहभागी भएका छन् ।

जनआन्दोलनमार्फत निरङ्कुश राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी, नाचगान र सेल्फीमा नेता-कार्यकर्ता व्यस्थ देखिएका छन् ।

एमालेले ४० वर्षमुनिका युवालाई लक्षित गरी आयोजना गरेको यो उत्सवमा करिब एक लाख युवा सहभागी हुने अपेक्षा गरिएको राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।

सङ्घका अध्यक्ष क्षितिज थेबेका अनुसार, देशभरबाट युवाहरू काठमाडौँमा भेला हुनेक्रम जारी छ । कार्यक्रम सुरु हुनुअघि नै भृकुटीमण्डपमा युवा नेता–कार्यकर्ताको भीड बढेको छ । कोही सेल्फी खिच्दै रमाइरहेका छन् भने कोही नेताहरूसँग भलाकुसारीमा व्यस्त देखिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्नेछन् । अन्य वक्ताहरूमा युवा नेताहरू सुहाङ नेम्वाङ, सुनिता डङ्गोल, समिक बडाललगायत छन् । युवाले उत्पादन गरेका सामग्रीका स्टल, कफी सप र फुड स्टलले पनि कार्यक्रमस्थलको आकर्षण बढाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत