१० बैशाख, हेटौँडा / बागमती प्रदेशको ५ जिल्लामा विभिन्न घटनामा मंगलबार ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको कालिका नगरपालिका–५, भिमउली सामुदायिक वन भित्र एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा भरतपुर महानगरपालिका–११, नवजीवनटोलका ६० वर्षीय पञ्चलाल योञ्जन रहेको प्रहरीले जानकारी दिएको छ । योञ्जन मंगलबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा मृत फेला परेका थिए । योञ्जन निउरो टिप्न वनमा गएको बुझिएको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको खनियाबास गाउँपालिका–४, खड्गरीमा एकजना वृद्धको मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७६ वर्षीय एक बहादुर थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा एक बहादुर घर नजिकै बारीमा घाँस काटेर फर्कने क्रममा लडेर मृत अस्थामा फेला परेका थिए ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–४, बट्टारमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रनिगापुर नगरपालिका चपुर बस्ने ३५ वर्षीय भुवन गौतम रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान ११ बजेको समयमा गौतम बसपार्क नजिक रहेको दिनेश मेकानिकल वर्कशप (ग्यारेज) मा काम क्रममा करेन्ट लागी घाईते भएका थिए । घाइते गौतमलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा लगिएकोमा उपचारका क्रममा दिउँसो १२ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१, धारा खोल्सामा सडकबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय गणेश सुन्दास रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो २ बजेर २० मिनेटको समयमा गणेश धारा खोल्साबाट नारायणटार जाने कच्ची सडकबाट एक मिटर तल खस्दा घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिका–१, क्याम्पल भिरमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा २६ वर्षीय कुमार थामी रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेको समयमा कुमार घरबाट घाँस काट्नका लागि गएका थिए । बेलुकासम्म पनि घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा क्याम्पल भिरको रुखमा अड्की मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस