रास्वपाको आरोप: शिक्षकलाई ‘बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने चिन्ता देखियो, सरकारमा देखिएन

६ वैशाख, काठमाण्डौ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सरकारले शिक्षकको आन्दोलनलाई आलटाल गरिरहेको आरोप लगाएका छन् । शनिवार सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै बुर्लाकोटीले यस्तो अवस्था दुखद रहेको बताएका छन् । 

‘लामो समयदेखि शीघ्र शिक्षा विधेयक ल्याइयोस् भनी आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न आगामी संसद् अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सशक्त प्रस्तुत हुन केन्द्रीय समितिले संसदीय दललाई निर्देशन गरिएको विदितै छ,’ बुर्लाकोटीले लेखेका छन्,‘विधेयक त पक्का पनि सदनबाटै ल्याउने हो । तर  आन्दोलनरत शिक्षक संघ सङ्गठनलाई यो विषयमा विश्वस्त पार्ने काम सरकारको हो ।’

शैक्षिक सत्र सुरु हुँदै गर्दाखेरि चलिरहेको यस आन्दोलन समयमै सम्बोधन हुन नसक्दा खस्कँदो सार्वजनिक शिक्षाको गुणस्तर माथि थप बज्रपात हुने उनले उल्लेख गरेका छन् । ‘आन्दोलनमा रहेका शिक्षकहरू स्वयं ‘हाम्रो बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने गीत गाइरहनुभएको छ । शिक्षकहरूमा देखिएको यो चिन्ता सरकारमा देखिएन,’ बुर्लाकोटीले लेखेका छन् । 

सरकारले सबै मागहरू तत्काल पूरा गर्न नसक्ने अवस्थालाई भने उनले स्वीकार गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘तर त्यसको संवाद गरी साङ्गोपाङ्गो लगाउने जिम्मा सरकारकै हो ।’ 

सरकार शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गर्ने विषयमा नभागोस् र आउने सातादेखि हाम्रा विद्यालयहरू नियमित खुलुन् भन्ने अपेक्षा कार्यवाहक महामन्त्री बुर्लाकोटीले राखेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत