काठमाडौं / हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ।
देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। अहिले देशको मध्य तथा पूर्वी तराईका केही भूभागमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ,
‘कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ। बिहानीपख तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना पनि छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
प्रतिकृया दिनुहोस