काठमाडौं / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सकिएको छ । मंगलबार राति अबेर मतदान सकिएको नेसपा नयाँ शक्तिका नेता रुपनारायण श्रेष्ठले जानकारी दिए ।
‘राति १२ बजे आसपास मतदान सकियो, मत गणना बुधबार बिहान सुरु हुन्छ’, उनले भने ।
एक नेताका अनसार बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी भइरहेको छ ।
पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।
महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताएका छन् ।
‘हालै सम्पन्न नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनद्वारा पारित युगीन महत्वको राजनीतिक तथा संगठनात्मक प्रस्ताव र नेतृत्व चयनमा अपनाइएको उन्नत प्रकृतिको समानुपातिकता सहितको प्रत्यक्ष निर्वाचन प्रणालीले नेपाली राजनीतिको पुनर्संरचनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास’, उनले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन्।
प्रतिकृया दिनुहोस