जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

काठमाण्डाै / उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ ।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने छलफलका लागि तयार रहेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभएको छ ।

भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरूको पक्षमा रहेको पनि जसपा नेपालले टिप्पणी गरेको छ । यो अध्यादेशले देशलाई ठूलो क्षति पुर्‍याउने ठहर गर्दै त्यसलाई स्वीकार गर्न नसकिने निर्णय गरेको प्रथम उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।

वन क्षेत्रलाई सङ्कुचन बनाउने गरी वन, राष्ट्रिय निकुञ्ज, आरक्ष वरपरका मध्यवर्ती क्षेत्र, गौचर, हाटघाट र बजार क्षेत्रका जग्गा दिन सकिने अध्यादेशमा व्यवस्था छ । घुमाउरो पारामा वन क्षेत्रको जग्गा सरकारको नाममा ल्याउने, अव्यवस्थित र सुकुम्वासीलाई दिने गरी ल्याइएको अध्यादेशले चुरेको भविष्यमाथि समेत चिन्ता बढाएको भन्दै यसलाई स्वीकार गर्न नसकिने जसपाले जनाएको छ । वास्तविक सुकुम्वासीलाई भन्दा बिचौलियाहरूलाई पोस्ने किसिमले अध्यादेश ल्याइएको जसपा नेपालको निष्कर्ष छ ।

सरकारले संसद् छलेर ६ वटा अध्यादेश ल्याएको छ । प्रतिनिधिसभामा बमुहत पुगे पनि राष्ट्रियसभामा भने सत्ताधारी दलको बहुमत नपुग्ने देखिएको छ । राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेसँगै यो अध्यादेश पारित नहुने पक्का भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० जना सांसद चाहिन्छ । अध्यादेशका पक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ जना सांसद छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत