काठमाडौं / ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको छ । यही घटनामा संलग्न अन्य पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको छ ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी सदस्य रहेका जोशी सहितको समूहले गत बिहीबार ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई किन ‘उन्मुक्ति’ दिइयो भन्ने प्रश्न उठेको छ ।
आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए । अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
पक्राउ परेका दुई जनाबाहेक नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाहीविरुद्ध पनि पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका पाँचजना सँगै रहेका जोशीविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छैन ।
माथिल्लो तहबाट दबाब आएपछि प्रहरीले जोशीविरुद्ध पक्राउ पुर्जीका लागि प्रशासनसँग अनुमति समेत नमागेको प्रहरी स्रोत बताउँछ । ‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तर, माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृतले अनलाइनखबरसँग भने ।
जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।
आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । हाल उन्मुक्ति दिइएका जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।
समाचार स्रोत: अनलाईन खबर
प्रतिकृया दिनुहोस