हेटौंडाको राप्ती नदीमा सुरू भयो र्‍याफ्टिङ सेवा

२७ साउन, हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबारदेखि र्‍याफ्टिङ सेवा औपचारिक रूपमा सुरु भएको छ । राप्ती नदीमा सुरु गरिएको यो सेवा हेटौंडाको राप्तीपुलदेखि रजैया-ज्यामिरेसम्म सञ्चालन हुनेछ ।

यसअघि त्रिशूली नदीमा मात्र उपलब्ध रहेको र्‍याफ्टिङको अनुभव अब हेटौंडावासीले आफ्नै सहरमा लिन पाउने भएका छन् । नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिद्वारा सञ्चालित यो सेवाको परीक्षण यात्रामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीसहित मकवानपुरका पत्रकारहरूले सहभागिता जनाएका थिए ।

अध्यक्ष कालाखेतीले राप्ती नदीमा र्‍याफ्टिङलाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धिसमेत हुने विश्वास रहेको बताए। उनले मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्त्वपूर्ण स्थान दिने प्रतिबद्धता व्यक्त गरे ।

नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रालिकाअनुसार राप्ती नदीको पानीको बहाव, सुरक्षा, र मनोरञ्जनका दृष्टिले यहाँ र्‍याफ्टिङको राम्रो सम्भावना रहेको छ । कम्पनीले हेटौंडाको राप्तीपुलदेखि मनहरी ज्यामिरेसम्मको ३ घण्टाको र्‍याफ्टिङ यात्राका लागि प्रतिव्यक्ति ९ सय रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ ।

यो नयाँ पर्यटकीय गतिविधिले हेटौंडा र आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ । कम्पनीले छिट्टै नियमित र्‍याफ्टिङ सेवा सुरु गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत