एसईई २०८० :- मकवानपुर जिल्लाकै रिजल्ट खस्कियो जिल्लामा ३६.४७ प्रतिशत मात्र पास

 १४ असार, मकवानपुर / माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

मकवानपुर जिल्लाको नतीजा राष्ट्रिय नतीजा भन्दा पनि कमजोर नतीजा देखिएको छ । राष्ट्रिय नतीजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड/ एनजी) भएका छन् । मकवानपुर जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।

गत चैत १५ गते सुरु भएर चैत २७ गते एसईई सकिएको थियो । २ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेड वृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत