काठमाण्डौ महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाण्डाै /  काठमाण्डौ महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । सेवा सहजताका लागि हिजोदेखि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । बेलुकाको समय भने परिवर्तन नभएको उहाँले बताउनुभयो ।

यो सेवा महानगरका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ । थप समयमा काम गर्नका लागि कर्मचारीलाई प्रोत्साहन गर्न ‘काठमाण्डौ महानगरपालिका कर्मचारी सेवा सुविधासम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि थप समयमा समेत कार्यसम्पादन गर्न आवश्यक रहेकाले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधनसम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान आफ्नो कार्यालय जानुअघि महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयबाट सेवा प्राप्त सजिलो होस् भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत