सर्लाही र चितवनमा भएका छ्ट्टाछुटै दुर्घटनामा दुई जनाको ज्यान गयो

काठमाण्डौ / सर्लाहीको बरहथवा नगरपालिकाको पिप्राभित्तामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन् । गएराति बरहथवा नगरपालिका–१५ मा रहेको नहरको बाटोमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको ज्यान गएको र अरु घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । हिजो बेलुका भरतपुर महानगरपालिका–३ बेलचोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकलको पछाडि बसेका भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते हुनुभएको छ । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत